काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित विद्युत्सहित नेपालको कुल जडित ऊर्जा क्षमता ४ हजार २९६ मेगावाट पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार परीक्षण चरणमा रहेका आयोजना र वैकल्पिक ऊर्जालाई बाहेक गरी यो क्षमता निर्धारण गरिएको हो।
मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युत् क्षमता ४ हजार ५०० मेगावाटभन्दा माथि पुग्ने प्रक्षेपण गरेको छ। हाल ३ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने सोही बराबरका अन्य आयोजना निर्माणको तयारीमा रहेका छन्।
हालसम्म ६६ केभीभन्दा माथिका करिब ७,३६० सर्किट किलोमिटर प्रसारण लाइन र १४ हजार ३२३ एमभिए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएका छन्। त्यस्तै ३३ केभी क्षमताका ८,२२५ सर्किट किलोमिटर लाइन र ३,३०८ एमभिए क्षमताका सबस्टेसन पनि निर्माण भइसकेका छन्।
सरकार र नेपाल विद्युत् प्राधिकरणको अभियानपछि विद्युत् चुहावट घटेर १२.५ प्रतिशतमा सीमित भएको मन्त्रालयले जनाएको छ। प्राविधिक सुधार र पूर्वाधार विस्तारमार्फत चुहावट अझ घटाउने लक्ष्य राखिएको छ।
नेपालमा प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ भने ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच विस्तार भएको मन्त्रालयको दाबी छ।
हालसम्म नेपालले २,९१८ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ भने करिब ५९० गिगावाट घण्टा आयात गरेको तथ्यांक सार्वजनिक गरिएको छ।