काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको स्वतन्त्रता र विधिको शासनमाथि हस्तक्षेप हुन खोजिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्।
कानुन दिवसको कार्यक्रममा बोल्दै उनले संविधान र संवैधानिक नैतिकताभन्दा माथि कोही हुन नसक्ने बताइन्। अधिकार र कानुनको प्रयोगको नाममा न्यायपालिकालाई कमजोर पार्ने तथा “आज्ञाकारी न्यायपालिका” बनाउने प्रयास भइरहेको हो कि भन्ने प्रश्न उठेको उनको भनाइ थियो।
मल्लले न्यायपालिकालाई निष्पक्ष न्यायको केन्द्र बनाउनुको सट्टा स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउने खतरा देखिएको उल्लेख गरिन्। उनले विधिको शासन कमजोर पार्ने कुनै पनि गतिविधिविरुद्ध सबैले आवाज उठाउनुपर्नेमा जोड दिइन्।
उनले संविधानविरुद्ध गरिने कामलाई परिवर्तन वा क्रान्तिको नाम दिन नसकिने बताउँदै संवैधानिक मूल्य, स्वतन्त्रता र न्यायिक मर्यादा जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखिन्।