काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीप नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन’मा बोल्दै उनले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी को योगदानको स्मरण गर्दै उनको विचार र जीवनशैली आज पनि प्रेरणादायी रहेको बताए।
राष्ट्रपतिले मनमोहन अधिकारी सरल, शालीन र दक्षिण एसियाकै पहिलो निर्वाचित वामपन्थी प्रधानमन्त्री भएको उल्लेख गरे। साथै उनले वीपी कोइरालासँगै मनमोहन अधिकारी लगायतका नेताहरूले नेपालको लोकतान्त्रिक आन्दोलनसँगै भारतको स्वतन्त्रता आन्दोलनमा समेत योगदान दिएको बताए।
कार्यक्रममा चिरिबाबु महर्जन ले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानमा निरन्तर काम गर्दै आएको जानकारी दिए। उनले शताब्दी पुरुष सत्यमोहन जोशी को १००औँ जन्मवर्षमा जात्रा, रथारोहण र बग्गी जात्राजस्ता विशेष कार्यक्रम आयोजना गरिएको स्मरण गरे। साथै, सत्यमोहन जोशीको नाममा नेपाल राष्ट्र बैंकसँग सहकार्य गरेर मोहरसमेत जारी गरिएको बताए।
त्यसैगरी, मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा एमाले नेता ईश्वर पोखरेल ले मनमोहन अधिकारीको विचार, योगदान र राजनीतिक विरासतलाई जोगाइराख्न २०५६ सालमा प्रतिष्ठान स्थापना गरिएको बताए। उनले मनमोहन अधिकारीलाई नेपालको वाम लोकतान्त्रिक आन्दोलनका ‘हिमशिखर पुरुष’का रूपमा वर्णन गर्दै सामाजिक सुरक्षा र जनआधारित विकास कार्यक्रमका अग्रदूत भएको उल्लेख गरे।