काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हर्क साम्पाङले उनलाई स्वागत गरेका हुन्।
पार्टी प्रवेशपछि बोल्दै किराँतीले यो एकता जनताको चाहनाअनुसार भएको दाबी गरे। उनले एकतालाई ऐतिहासिक कदमको संज्ञा दिँदै जनताको दबाब र अपेक्षाअनुसार आफूहरू एक ठाउँमा आएको बताए।
उनले “आँखामा सपना, मनमा बाचा, काँधमा जिम्मेवारी र छातीमा इमानदारिता बोकेर” आफूहरू नयाँ यात्रामा अघि बढेको उल्लेख गर्दै जनताको आदेशलाई स्वीकार गरेको बताए।
किराँतीले अब जनताले साथ दिने विश्वास व्यक्त गर्दै यो केवल राजनीतिक गठबन्धन नभई देश र जनतासँगको सम्बन्ध मजबुत बनाउने अभियान भएको धारणा राखे।
उनले विगतका राजनीतिक अनुभव र त्रुटिबाट शिक्षा लिँदै आफूहरू एकताको निष्कर्षमा पुगेको समेत बताएका छन्।