काठमाडौँ । नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन दिगो पर्यटन, सम्पदा संरक्षण र सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका छन्।
उनले वर्तमान विश्व परिवेशमा नेपालले अवसरसँगै चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै महामारीपछि यात्रा, पर्यटन र सम्पदा संरक्षण क्षेत्रमा नयाँ जटिलता थपिएको बताए। त्यसको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी कूटनीतिक अभ्यास अपरिहार्य भएको उनको भनाइ थियो।
सभामुख अर्यालले असंलग्न परराष्ट्र नीतिमा आधारित नेपालको पहिचानलाई विश्वसामु सकारात्मक रूपमा प्रस्तुत गर्न सक्षम कूटनीति आवश्यक रहेको बताए। उनले विश्वसँगको सम्बन्ध मजबुत बनाएर मात्र आर्थिक समृद्धि र समुन्नत समाज निर्माण सम्भव हुने धारणा राखे।
उनका अनुसार नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सन्तुलित कूटनीतिक अभ्यासले देशको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।