काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन तथा सुकुम्बासीमाथि भइरहेको ज्यादती तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन्।
वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कानुन कार्यान्वयनका नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि स्वीकार्य नहुने बताए। उनका अनुसार वास्तविक अवस्था अध्ययन नगरी गरिने बस्ती खाली गर्ने कार्यले सर्वसाधारणमा डर र अन्योल बढाएको छ।
मुख्यमन्त्री कँडेलले लोकतान्त्रिक व्यवस्थामा नागरिकले सुरक्षित महसुस गर्न पाउनुपर्नेमा जोड दिँदै अहिले सुकुम्बासी व्यवस्थापनको नाममा जनता असहज अवस्थामा पुगेको टिप्पणी गरे। उनले समस्या क्रमशः समाधान हुने प्रकृतिको भएकाले दीर्घकालीन र व्यवहारिक समाधान आवश्यक रहेको बताए।
उनले सरकारी जग्गा संरक्षण अभियान जारी रहे पनि मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै नीति कार्यान्वयन सन्तुलित हुनुपर्ने धारणा राखे। साथै आगामी बजेटमा कर्णालीका प्राथमिकता र योजनाहरू समेट्न संघीय सरकारलाई पनि आग्रह गरेका छन्।