काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिई राज्यलाई ठूलो आर्थिक क्षति पुर्याएको आरोप अख्तियारको छ। आयोगले ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो माग गर्दै आरोपपत्र पेश गरेको जनाएको छ।
मुद्दामा तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम र प्रदीप अधिकारीलगायत उच्च सरकारी अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ।