काठमाडौँ । वीरगन्जमा भइरहेको सडक विस्तारप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले बिहीबार प्रदर्शन गरेका छन्। त्रिभुवन राजपथअन्तर्गत २५–२५ मिटर सडक विस्तारलाई “विभेदकारी” भन्दै उनीहरूले मानव साङ्लो बनाएर विरोध जनाएका हुन्।
वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा संघर्ष समितिको संयुक्त आयोजनामा घण्टाघरदेखि आदर्शनगर चोकसम्म बिहान ९ बजेदेखि १०:३० बजेसम्म प्रदर्शन गरिएको थियो।
प्रदर्शनमा सहभागी पूर्व मेयर विजय कुमार सरावगीले हेटौंडामा २५ गज मात्र विस्तार हुँदा वीरगन्जमा २५ मिटर विस्तार गरिएको भन्दै सरकारको निर्णय अन्यायपूर्ण भएको आरोप लगाए। उनले नक्सा र आधार स्पष्ट नगरी सडक रेखांकन गरिएको दाबी गरे।
संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले पनि रेखांकन अस्पष्ट र विभेदकारी भएको भन्दै घर भत्काउने प्रक्रिया रोक्न माग गरे।
प्रदर्शनमा वृद्धदेखि बालबालिका, युवा र महिलासम्मको सहभागिता थियो। स्थानीयका अनुसार सडक विस्तारका कारण ७ सयभन्दा बढी परिवार विस्थापित हुने जोखिम रहेको छ।