काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले संघको विधान संशोधन तथा नेपाली नागरिकता सम्बन्धी विषयमा सरकारले स्पष्ट नीति लिनुपर्ने बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकार गठनपछि एनआरएनए उत्साहित भएको उल्लेख गर्दै नेपाल सरकारसँग साझेदारीमा काम गरेर देश र नेपालीलाई सहयोग गर्ने उद्देश्यसहित संघ स्थापना भएको बताए।
उनका अनुसार एनआरएनएले बाढी, भूकम्पजस्ता विपद्का समयमा विदेशमा रहेका नेपालीहरूको कमाइमार्फत निरन्तर सहयोग गर्दै आएको छ। उनले गैरआवासीय नेपाली नागरिकताको निरन्तरता चाहिएको पनि बताए।
बज्राचार्यले एनआरएनएसम्बन्धी कानुनी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै एक मात्र घर राख्नुपर्ने जस्ता प्रावधानले आफूहरूलाई अपमानित महसुस भएको टिप्पणी गरे।
उनले राजनीतिक अधिकारबाहेक अन्य सबै अधिकार नेपालीसरह सुनिश्चित हुने व्यवस्था ऐनमा स्पष्ट हुनुपर्ने माग गर्दै एनआरएनएले नेपालप्रति बफादार रहँदै कर तिर्न तयार रहेको पनि बताए।