काठमाडौँ । सिन्धुलीको दुधौलीमा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घुम्ती सडकमा अनियन्त्रित बनेको गाडी सडकबाट चिप्लिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट बेहुला लिएर उदयपुरको घाइघाट–रातमाटेतर्फ जाँदै थियो। दुधौली नगरपालिका–१ राँगेस्थित सडक खण्डमा पुगेपछि गाडी दुर्घटनामा परेको हो।
गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार थिए। दुर्घटनामा बेहुला भने सुरक्षित रहेका छन्।
घाइतेमध्ये योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ।
यस्तै लालबहादुर विक, साने विक, श्याम विकलगायत अन्य घाइतेहरूको सिर्थौली अस्पतालमा उपचार भइरहेको छ। स्थानीयवासी र सुरक्षाकर्मीले घाइतेहरूको उद्धार गरेका थिए।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान थालेको छ। प्रारम्भिक रूपमा तीव्र गति र घुम्ती सडकका कारण गाडी नियन्त्रण बाहिर गएको अनुमान गरिएको छ।