काठमाडौँ । नेपाली सेनाले आफ्नो संस्था र नेतृत्वलाई लक्षित गरी सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रसारित भइरहेका तथ्यहीन सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको अपिलमा यस्ता कपोकल्पित सूचना र अभिव्यक्तिले आम नागरिकमा भ्रम सिर्जना गर्ने उल्लेख गर्दै भ्रामक सामग्री नप्रसारण गर्न आग्रह गरिएको छ।
सेनाले यस्ता गतिविधिहरूको सम्बन्धित निकायसँग समन्वय गरी निगरानी भइरहेको बताउँदै संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
साथै, आम नागरिकलाई आधारहीन र द्वेषपूर्ण सामग्रीमा विश्वास नगर्न र आधिकारिक जानकारीका लागि सेनाका प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत आउने सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ।