काठमाडौँ । सरकारले अघि सारेको सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले नक्कली सुकुम्बासी पहिचानमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। नदी किनार तथा सार्वजनिक स्थानमा बसोबास गरिरहेका नागरिकलाई समेट्दै वास्तविक भूमिहीनको पहिचान गरी सुरक्षित र सम्मानजनक आवास सुनिश्चित गर्ने अभियान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार वास्तविक भूमिहीनलाई न्यायोचित सुविधा दिनुपर्ने उद्देश्य भए पनि पछिल्लो समय “नक्कली सुकुम्बासी” को संख्या बढेको भन्दै त्यसको छानबिनमा सहकार्य आवश्यक भएको बताइएको छ।
काठमाडौँको थापाथलीस्थित बस्ती हटाउने प्रयासपछि सुकुम्बासी व्यवस्थापन विषय पुनः चर्चामा आएको हो। महानगरपालिकाले खाली गराउने तयारीसँगै सरकारले पनि व्यवस्थित समाधानतर्फ पहल थालेको जनाइएको छ।
देशभर नै भूमिहीनताको समस्या रहे पनि केही स्थानमा राजनीतिक संरक्षण वा व्यक्तिगत स्वार्थका कारण सरकारी जग्गा ओगट्ने प्रवृत्ति देखिएको भन्दै वास्तविक भूमिहीन प्रभावित हुन नहुनेमा जोड दिइएको छ। प्रहरीले सही सूचना उपलब्ध गराएर अभियान सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ।