काठमाडौँ । जनकपुरमा रौतहट डिभिजन वन कार्यालयमा व्यापक अनियमितता र वन दोहन भएको आरोप लगाउँदै प्रदेश सरकारमा उजुरी दर्ता गरिएको छ।
सुनिल कुमार यादव नेतृत्वको टोलीले मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमार्फत उजुरी बुझाएको हो। उजुरीमा डिभिजन वन प्रमुख हेमन्त साहमाथि काठ बिक्रीमा अनियमितता, कमिशन असुली, सामुदायिक वनको रकम दुरुपयोग र वन तस्करीलाई संरक्षण दिएको आरोप लगाइएको छ।
त्यसैगरी, वन फँडानी, कागजात नष्ट गर्ने प्रयास, संरचना निर्माणमा आर्थिक चलखेल र चुरे क्षेत्रमा अवैध दोहनजस्ता गम्भीर विषयहरू पनि उजुरीमा समेटिएका छन्।
उजुरीकर्ता पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै, आवश्यक परे उच्च निकायसम्म जाने चेतावनी दिएका छन्। प्रदेश वन तथा वातावरण मन्त्रीले उजुरीका सबै बुँदामाथि छानबिन गरी आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।