काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवन ले ठूलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका–२९ चौकी डाँडास्थित सडकखण्डमा भारतीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरिएको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो। गोप्य सूचनाका आधारमा खटिएको टोलीले बिहान करिब ९:३० बजे जाँच गर्दा सिटमुनि ‘फल्स बटम’ बनाएर लुकाइएको ३० वटा प्याकेट फेला पारेको जनाएको छ।
घटनामा संलग्न आरोपमा कालिका नगरपालिका–३ पदमपुरका २७ वर्षीय देवचन्द्र स्याङ्तान पक्राउ परेका छन्। प्रहरीले गाँजा र गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।
