काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहस चर्किरहेका बेला हर्क साम्पाङ राईले विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन्। उनले “संविधान संशोधन कार्यशाला २०८३” मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा खाका अघि सारेका हुन्।
उनको प्रस्तावअनुसार कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था हुनुपर्ने, र त्यसैले सरकार गठन गर्ने तथा मन्त्रीपरिषद् चयन गर्ने अधिकार पनि सोही कार्यकारी प्रमुखमा रहने उल्लेख छ। मन्त्रीपरिषद् गठन गर्दा जाति, समुदाय, लिङ्ग र विविधताको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनले प्रस्ताव गरेका छन्।
त्यस्तै, सरकारको कार्यसम्पादन निगरानी, कानुन कार्यान्वयन मूल्याङ्कन र सुधारका लागि छुट्टै संयन्त्र आवश्यक हुने पनि प्रस्तावमा उल्लेख छ। कार्यकारी प्रमुखले शक्ति दुरुपयोग गरेमा संसदबाट महाअभियोग लगाई पदमुक्त गर्न सकिने व्यवस्था राख्नुपर्ने उनको धारणा छ।
