काठमाडौँ । कैलालीको गोदावरीस्थित बुढीतोलामा वैशाख १७ देखि २३ गतेसम्म पर्यटन मेला आयोजना हुने भएको छ। बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो।
मूल आयोजक समितिका संयोजक हरि दत्त भट्टराईका अनुसार मेलाको उद्देश्य बुढीतोलाको ऐतिहासिक महत्व उजागर गर्नु, पर्यटन प्रवर्द्धन गर्नु र लगानी आकर्षित गर्नु हो। सल्लाहकार अशोक मल्लले राज्यको पर्याप्त लगानी नपुग्दा ओझेलमा परेको पर्यटन सम्भावनालाई मेलाले उजागर गर्ने विश्वास व्यक्त गरे।
गोदावरी–४ का वडा सदस्य शेरबहादुर घर्तीले यस क्षेत्र धार्मिक दृष्टिले पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै मेला सांस्कृतिक र धार्मिक पहिचान विस्तारमा सहयोगी हुने बताए। वडा अध्यक्ष हेमप्रकाश मल्लले स्थानीयसँगै छिमेकी भारतबाट समेत पर्यटक आकर्षित गर्न सकिए क्षेत्रीय पर्यटनलाई थप टेवा पुग्ने धारणा राखे।
आयोजकका अनुसार मेलामा ६० भन्दा बढी स्टल र विविध सांस्कृतिक कार्यक्रम रहनेछन्।