Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लगानी बोर्ड बैठकमा अर्थमन्त्री वाग्लेको असन्तुष्टि, “५५ मध्ये २ मात्रै निर्माणमा जानु लाजमर्दो”

लगानी बोर्ड बैठकमा अर्थमन्त्री वाग्लेको असन्तुष्टि, “५५ मध्ये २ मात्रै निर्माणमा जानु लाजमर्दो”

काठमाडौं । लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठकमा स्वीकृत आयोजनाको सुस्त प्रगतिप्रति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कडा असन्तुष्टि जनाएका छन्।

मंगलबार अर्थ मन्त्रालयमा बसेको बैठकमा उनले ५५ वटा स्वीकृत आयोजनामध्ये दुईवटा मात्रै निर्माण चरणमा पुग्नु “लाजमर्दो” अवस्था भएको टिप्पणी गर्दै विदेशी लगानी स्वीकृत भएर पनि काम अघि नबढ्नु गम्भीर विषय भएको बताए। समस्या के हो स्पष्ट पहिचान गरेर तत्काल समाधान गर्न निर्देशन दिँदै उनले अबको १४औँ बैठकसम्म ठोस प्रगति नदेखिए कडा निर्णय लिनुपर्ने संकेत गरे।

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले पनि देशका प्रमुख विकास परियोजनाहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै अवरोध गर्ने कारकहरू पहिचान गरी तुरुन्त समाधान गर्नुपर्ने बताए। उनले समन्वयमा कमजोरी कहाँ र कसको कारणले भएको हो भन्ने विषयमा अब कडा अनुगमन हुने बताएका छन्।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डको भूमिका, स्वीकृत तथा सहजीकरण भइरहेका आयोजनाहरूको अवस्था र अघिल्लो बैठकका निर्णय कार्यान्वयनबारे जानकारी गराएका थिए।