काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आगामी एक वर्षभित्र संस्थालाई पूर्ण रूपमा आइटी–आधारित प्रणालीमा रूपान्तरण गर्ने घोषणा गरेको छ।
कोषको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कोषाध्यक्ष तथा निमित्त सदस्य–सचिव श्रीधर सापकोटाले प्रशासनिक व्यवस्थालाई आधुनिक र चुस्त बनाउन डिजिटल प्रणाली अपरिहार्य भएको बताएका छन्।
उनका अनुसार आगामी वार्षिकोत्सवसम्म कोषका सबै कामकाजलाई प्रविधिमा आधारित बनाउने लक्ष्य राखिएको छ। उनले भने, “प्रशासन सुधारका लागि अब आइटी प्रणालीबाहेक विकल्प छैन।”
सापकोटाले पशुपति क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले भगवान पशुपतिनाथलाई साक्षी राख्दै शून्य सहनशीलताको नीति अपनाउने समय आएको उल्लेख गरे।
सरकारी संरचना र पर्याप्त सहयोग हुँदाहुँदै अपेक्षित सुधार हुन नसकेकोप्रति संकेत गर्दै उनले अब परिणाममुखी काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।