काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमा हेरफेरबारे राय तथा सुझाव माग गरेको छ।
मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सरोकारवाला निकायहरूलाई पत्राचार गर्दै सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। साथै जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत बोधार्थ दिँदै सहजीकरणका लागि आग्रह गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ का प्रावधानअनुसार गाउँपालिका–नगरपालिका एकीकरण, वडाको संख्या तथा सीमा पुनरावलोकन र नगरपालिकाको वर्गीकरण संशोधनसम्बन्धी प्रारम्भिक मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यस सम्बन्धमा कुनै राय सुझाव भए तीन दिनभित्र इमेलमार्फत उपलब्ध गराउन समेत आग्रह गरेको छ।