काठमाडौँ । जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा जुम्ला, कालिकोट र मुगु जिल्लाबाट २५ करोडभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।
कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेका अनुसार साउनदेखि चैतसम्मको अवधिमा २९ करोड ३० लाख ७३ हजार रुपैयाँ लक्ष्य राखिएकोमा २५ करोड २८ लाख ८ हजार रुपैयाँ संकलन भएको हो, जुन लक्ष्यको ८४.४० प्रतिशत बराबर हो।
आयकरतर्फ २१ करोड ७३ लाख ९९ हजारको लक्ष्यमा १८ करोड १८ लाख ५७ हजार रुपैयाँ संकलन भएको छ। भ्याटतर्फ ५ करोड ४० लाख २७ हजारको लक्ष्यमा ५ करोड ३२ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ, जुन ९८.५४ प्रतिशत हो।
त्यसैगरी अन्तःशुल्कतर्फ ७५.०७ प्रतिशत र बहालकरतर्फ ६६.४० प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
राजस्व संकलन वृद्धि गर्न कार्यालयले करदातामुखी अभियान, घरदैलो अनुगमन, टेलिफोन तथा एसएमएसमार्फत ताकेता, र कर शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। बक्यौता असुली, नक्कली बिल नियन्त्रण तथा कर परीक्षणलाई पनि प्राथमिकतामा राखिएको छ।
हाल कार्यालयअन्तर्गत आयकरमा १६,९२२, भ्याटमा १,७१७ र अन्तःशुल्कमा ५८२ जना करदाता दर्ता रहेका छन्। प्यान दर्ता स्थानीय तहबाटै गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको जनाइएको छ।