काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्दै खुलापत्र सार्वजनिक गरेका छन्। उनले देशको विकासमा मुख्य अवरोध प्रशासनिक जटिलता र कर्मचारी संयन्त्रको कार्यशैली रहेको आरोप लगाउँदै कानुनी प्रणालीमै “ठूलो शल्यक्रिया” आवश्यक रहेको बताएका छन्।
साम्पाङले कर्मचारी संयन्त्रले जनप्रतिनिधिको निर्देशन नमान्ने, प्रक्रियाको नाममा काम ढिलाइ गर्ने र प्रणालीलाई जटिल बनाउने गरेको दाबी गरेका छन्। उनले यस्ता प्रशासनिक र प्रक्रियागत समस्यालाई “क्यान्सर” को संज्ञा दिँदै विद्यमान कानुनी संरचनामा व्यापक सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
