काठमाडौँ । गुण्डागर्दीविरुद्ध कडाइ गर्दै आएको प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको यस अभियानअन्तर्गत हालसम्म १ हजार ९७ जनाको विवरण संकलन गरिएको छ।
परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रोफाइलमा गुण्डागर्दी, लागुऔषध कारोबार, चोरीलगायत आपराधिक पृष्ठभूमिका व्यक्तिहरू समेटिएका छन्। उनीहरूको फोटो, नाम, ठेगाना, पेसा, आपराधिक रेकर्ड, सम्बन्ध, पारिवारिक पृष्ठभूमि, ट्राभल हिस्ट्री तथा अन्य विवरण संकलन गरिएको छ।
प्रहरीका अनुसार यसरी तयार गरिएको प्रोफाइलले निगरानी प्रणालीलाई प्रभावकारी बनाउन र कुनै घटना भए तत्काल कानुनी दायरामा ल्याउन सहयोग पुग्नेछ। साथै, सामाजिक सञ्जालमार्फत समूह विस्तार गर्ने गतिविधिमा समेत निगरानी बढाइने जनाइएको छ।
यसअघि ‘सेफ्टी काठमाडौं’ अभियान अन्तर्गत एकै दिन १९५ जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये २४ जना गुण्डागर्दी पृष्ठभूमिका रहेको र उनीहरूमाथि मुद्दा चलाइएको प्रहरीले जनाएको छ।