काठमाडौँ । संसदीय रिपोर्टिङमा संलग्न पत्रकारहरूको टोलीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटघाट गरेको छ। भेटमा संसद् परिसरभित्र काम गर्दा भोग्नुपरेका प्राविधिक तथा सुरक्षा सम्बन्धी समस्याबारे छलफल भएको हो।
पत्रकारहरूले संसद् भवन प्रवेशका लागि फरक–फरक गेट प्रयोग गर्नुपर्ने अवस्थाले असहजता सिर्जना भएको तथा फोटो खिच्ने क्रममा हुने कडाइले समाचार संकलनमा अवरोध पुगेको गुनासो गरेका थिए। उनीहरूले अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रेसमैत्री वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्।
गुनासो सुनेपछि सभामुख अर्यालले हाल संसद् भवन अस्थायी संरचनामा सञ्चालन भइरहेको कारण केही व्यावहारिक समस्या देखिएको स्पष्ट पारे। स्थायी भवन निर्माणपछि यस्ता कठिनाइ समाधान हुने विश्वास पनि उनले व्यक्त गरे।
उनले संसद् र प्रेसबीचको सम्बन्ध लोकतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै तत्कालका लागि प्रवेश र फोटो प्रक्रियालाई सहज बनाउन सचिवालय र सुरक्षा निकायसँग समन्वय गरिने बताए। साथै, पत्रकारहरूको सहज पहुँच र प्रभावकारी रिपोर्टिङका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।