काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्यले तीव्र गति लिएको छ। हालसम्म परियोजनाको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ५१ प्रतिशत पुगेको छ।
सुरुङ मार्गमा ‘ब्रेकथ्रु’ भएसँगै निर्माण गतिविधि थप तीव्र बनेको आयोजना प्रमुख नवराज बास्तोलाले बताएका छन्। उनका अनुसार सुरुङभित्र भुइँ ढलान, भित्तो लेपन लगायतका कामहरू सम्पन्न भइसकेका छन् भने तीन वटै बाइपासमा पनि एकैसाथ काम भइरहेको छ।
हालसम्म सुरुङको लाइनिङ सम्बन्धी करिब १५२० मिटर काम सम्पन्न भएको छ। इन्भर्ट (भुइँ ढलान) पनि पूरा भइसकेको र दुवै किनारामा नालीका लागि बेस संरचना निर्माण गरिएको आयोजनाले जनाएको छ।
सुरुङ निर्माणसँगै सिद्धार्थ राजमार्गमा यात्रु सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ।