काठमाडौं । त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गर्न दबाब दिने उद्देश्यले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गरिएको छ। नेपाल विद्यार्थी संघ, स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पस तथा विश्वविद्यालयका विद्यार्थीहरूको संयुक्त आयोजनामा अभियान अघि बढाइएको हो।
अभियानका क्रममा सहभागीहरूले सडकमा भिक्षा संकलन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले बजेट अभावका कारण सरकारी क्याम्पसहरूको पूर्वाधार कमजोर बन्दै गएको र गुणस्तरीय शिक्षामा पहुँच सीमित भइरहेको बताएका छन्।
विद्यार्थीहरूको भनाइअनुसार राष्ट्रिय शिक्षा बजेटको करिब १० देखि १५ प्रतिशत मात्र विनियोजन हुने गरेको छ, जसमा उच्च शिक्षाका लागि ८ देखि ११ प्रतिशत मात्रै छुट्याइने गरिएको छ। विकसित देशहरूले भने शिक्षा बजेटको करिब ५० प्रतिशतसम्म उच्च शिक्षामा लगानी गर्ने उदाहरणसमेत प्रस्तुत गरिएको छ।
अभियानमा सहभागीहरूले न्यून बजेटका कारण भौतिक पूर्वाधार, शैक्षिक स्रोतसाधन र अनुसन्धान गतिविधि कमजोर भएको उल्लेख गर्दै तत्काल सुधार र लगानी वृद्धि आवश्यक रहेको बताएका छन्।
कार्यक्रमका क्रममा त्रिचन्द्र क्याम्पस स्ववियु सभापति गोविन्द कोइरालाले सरकारी उदासीनताका कारण क्याम्पसका जीर्ण भवन, कक्षाकोठा र प्रयोगशाला सुधार हुन नसकेको भन्दै अब आफ्नै पहलमा भिक्षादानमार्फत क्याम्पस सुधार गर्ने अभियान सुरु गरिएको बताएका छन्।