Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गृहमन्त्री गुरुङ र कोरियाली राजदूतबीच भेट: सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र कोरियाली राजदूतबीच भेट: सहकार्य विस्तारमा जोड

काठमाडौं । द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित गृहमन्त्री सुदन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङ बीच गृह मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ।

भेटमा नेपाल–कोरिया सम्बन्ध, आर्थिक–सामाजिक सहयोग र आगामी सहकार्य विस्तारका विषयमा छलफल भएको छ। राजदूतले गृहमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

गुरुङले कोरियामा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षा र रोजगारीका विषयमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै थप सहकार्यको अपेक्षा व्यक्त गरे। राजदूत पार्कले नेपालीहरू मेहनती र अनुशासित भएको उल्लेख गर्दै कोरियाली समाजमा उनीहरूको योगदान प्रशंसनीय रहेको बताए।

भेटका क्रममा साइबर ब्यूरो सुदृढीकरण, सुरक्षा उपकरण सहयोग, भीड नियन्त्रण तथा नेपाल प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउने विषयमा पनि सहकार्यको प्रस्ताव गरिएको थियो।

यससँगै कोरियाली लगानीको सुरक्षा, बौद्ध संस्कृति प्रवर्द्धन र लुम्बिनी को अन्तर्राष्ट्रिय प्रचारमा संयुक्त पहल आवश्यक रहेकोमा दुवै पक्ष सहमत भएका छन्।