काठमाडौं । नियमित गस्ती तथा निगरानी अभियानका क्रममा देशका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी का अनुसार बुधबार काठमाडौँको टेकु ब्रह्मटोल, ललितपुरको कृष्णगल्ली, सुनसरीको बराहक्षेत्र, हेटौँडा, बाँके, कैलाली, तनहुँ, विराटनगर र कपिलवस्तुबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूबाट चिकित्सकको सिफारिसमा मात्र पाइने ट्रामाडोल ट्याब्लेट, ब्राउनसुगर र खैरो हेरोइन जस्ता लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
टेकुबाट ५६० ट्रामाडोल ट्याब्लेटसहित एक जना, ललितपुरबाट २६७ ट्याब्लेटसहित दुई जना र सुनसरीको सामुदायिक वन क्षेत्रबाट १,६१० ट्रामाडोल ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरिएको छ।
यस्तै बाँके र कैलालीबाट ब्राउनसुगर र खैरो हेरोइनसहित थप व्यक्तिहरू पक्राउ परेका छन् भने अन्य जिल्लामा पनि लागूऔषध कारोबारमा संलग्न शंकास्पद व्यक्तिहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध नियन्त्रणका लागि देशभर निगरानी र गस्ती थप कडा बनाइएको छ।