काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायती राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–बेलायत सम्बन्ध सुदृढ बनाउनेसँगै शिक्षा र खेलकुद क्षेत्रमा नयाँ सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको अटिजम स्कुलको अवधारणा र कार्यान्वयनबारे महत्त्वपूर्ण कुराकानी भएको छ।
मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बेलायतसँग प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यको प्रस्ताव गरेका छन्। साथै शिक्षकहरूको क्षमता विकासमा पनि बेलायतको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरे।
राजदूत फेनले नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासमा सहयोग गर्न बेलायत सकारात्मक रहेको उल्लेख गर्दै ‘ट्रान्सनेसनल एजुकेशन’ को सम्भावनाबारे चासो व्यक्त गरे। उनले अटिजम स्कुल योजनामा सहयोग गर्न तयार रहेको पनि बताए।
भेटमा दुवै पक्षले शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्दै सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन्।