काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयले तोकिएभन्दा बढी शुल्क लिएको विषयमा उजुरी गर्न मिल्ने गरी हेल्पडेस्क सञ्चालनमा ल्याएको छ।
मन्त्रालयका अनुसार शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरको जिम्मामा रहने उक्त हेल्पडेस्कमार्फत ९८५१२१४६३८ नम्बरमा सिधै फोन गरेर गुनासो दर्ता गर्न सकिनेछ।
मन्त्रालयले विद्यालयहरूलाई तोकिएको मापदण्डअनुसार मात्र शुल्क लिन निर्देशन दिँदै उल्लङ्घन भएमा शिक्षा ऐन २०२८ अनुसार कारबाही हुने जनाएको छ। अनियमित शुल्क असुली भएमा रकम फिर्ता गराउने वा २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार शुल्कसम्बन्धी गुनासो संकलन र सहजीकरणका लागि यो व्यवस्था गरिएको हो।
यसअघि सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना तथा शुल्कसम्बन्धी प्रक्रिया नियमअनुसार मात्र गर्न आदेश दिएको थियो। मन्त्रालयले पनि पटक–पटक निर्देशन जारी गरे पनि केही निजी विद्यालयले अटेरी गरेपछि यस्तो संयन्त्र स्थापना गरिएको हो।