काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेता तथा पूर्व उपसभापति पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले खड्कालाई पार्टी विधान उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यसअघि चैत १४ गते पार्टी लेटरहेड दुरुपयोग गरी विज्ञप्ति जारी गरेको विषयमा चैत १८ गते बसेको समितिको बैठकले उनलाई एक पटकका लागि सचेत गराएको थियो।
त्यसपछि चैत ३० गते खड्काले आफूलाई नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको भन्दै पुनः प्रेस विज्ञप्ति जारी गरेका थिए।
सोही कार्यलाई विधान विपरीत मान्दै अनुशासन समितिले २०१७ सालको संशोधित विधानको धारा ३४ (८) (घ) बमोजिम सात दिने स्पष्टिकरण माग्ने निर्णय गरेको जनाएको छ।