काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयदेखिको वित्तीय अनुसन्धानलाई तीव्र बनाउँदै व्यवसायी दीपक भट्ट र उनका साझेदार सुलभ अग्रवालसँग सम्बन्धित निवास तथा व्यावसायिक संरचनाहरूमा मंगलबार बिहान एकसाथ छापा मारेको छ।
ललितपुरको सानेपास्थित भट्टको निवास ‘किरणभवन’ र कार्यालय सिल गर्दै टोलीले करिब १० वटा विलासी सवारी साधन नियन्त्रणमा लिएको छ। रेञ्ज रोभर, ल्याण्डक्रुजर, बीएमडब्लु, टेस्ला, प्रोटन र बीवाईडी जस्ता गाडीहरूसहित मोबाइल, कम्प्युटर, महत्वपूर्ण कागजात र सीसीटीभी सर्भर पनि जफत गरिएको छ।
त्यसैगरी, भट्ट र अग्रवालको साझेदारी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनी तथा अन्य सम्बन्धित कार्यालयहरूमा समेत छापा मारेर डिजिटल प्रमाण र फाइलहरू नियन्त्रणमा लिइएको छ। अग्रवालसँग सम्बन्धित कार्यालय र वित्तीय व्यवस्थापक उपेन्द्र हिरावतको निवासमा पनि छुट्टाछुट्टै अनुसन्धान गरिएको स्रोतले जनाएको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार देशभित्र र विदेश (सिंगापुर, हङकङ, दुबई) मा वित्तीय स्रोत परिचालन भएको हुनसक्ने आशंकामा सम्पत्ति संरचना र कारोबारको विस्तृत अध्ययन भइरहेको छ।
भट्ट र अग्रवाल दुवै हाल दुई सातादेखि हिरासतमा छन्। उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बीमा तथा बैंकिङ कसुरसम्बन्धी अनुसन्धान जारी रहेको र अदालतले थप हिरासत अनुमति समेत दिएको छ।