काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ ।
कार्यवाहक मुख्यसचिव दुलालले पार्टीको समसामयिक विषयमा छलफल हुने बताए ।
पार्टीकै नेता–कार्यकर्ताले कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि दलकै नेता छान्न नसक्नु विडम्बना भएको बताउँदै आएका छन् ।
कांग्रेस संसदीय दलको नेता बन्न सभापति गगनकुमार थापाका ससुरासमेत रहेका अर्जुननरसिंह केसी, नेताहरू भीष्मराज आङ्देम्बे र मोहन आचार्यबीच प्रतिस्पर्धा छ ।
सभापति थापाले भने ससुरा केसीलाई सकेसम्म दलको नेता बनाउन चाहेका छैनन् । आम कार्यकर्तामाझ सन्देश नराम्रो जाने भन्दै उनले केसीलाई दलको नेता बनाउन नचाहेका हुन् । तर शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहले भने केसीलाई नै अघि बढाइरहेका छन् ।
यसअघिका सहमहामन्त्रीसमेत रहेका भीष्मराज देउवा समूह छोडेर गगन समूहमा आएका छन् । रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले पनि दाबी कायमै राखेका छन् ।
फागुन २१ गते निर्वाचनपछि पटकपटक संसद बैठक बस्यो । संसदको अधिवेशन नै अन्त्य भइसकेको छ । तर नेपाली कांग्रेसले अझै दलको नेता चयन गर्न सकेको छैन ।
कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । तर उनले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले लज्जास्पद हराइदिए त्यसपछि पनि कांग्रेसलाई दलको नेता चयनका लागि सकस परेको हो ।