काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा जारी सन्देशमार्फत देशको राजनीतिक अवस्था र परिवर्तनप्रति टिप्पणी गरेका छन्।
उनले युवापिँढीको राजनीति र राज्य सञ्चालनमा बढ्दो सहभागितालाई सकारात्मक मान्दै शिक्षित, प्रविधिमैत्री र देश बुझेका युवाको आगमनले राष्ट्रलाई अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यद्यपि, निरन्तर परिवर्तन र विकल्पको खोजीमा लाग्दा देश स्थिर मार्गमा अघि बढ्न नसकेको उनको भनाइ छ। “सधैँ प्रयोग र अभ्यासमै लाग्दा देश प्रयोगशाला जस्तो बनेको छ,” भन्दै उनले स्थिरता, निरन्तरता र दृढताको अभावले विकासमा असर परेको उल्लेख गरेका छन्।
उनले विगतका अनुभवबाट विधि, प्रणाली र नेतृत्व सुधार नगरी केवल परिवर्तनले मात्रै समग्र स्थिति सुधार नहुने सन्देश दिएका छन्।