काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामा नीति, प्रशासनिक सुधार तथा सेवा प्रवाह सुदृढीकरणका विभिन्न गतिविधि अघि बढाएको छ।
यस अवधिमा मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा प्रवाह सुधार, औषधि व्यवस्थापन तथा अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सेवा गुणस्तर वृद्धि र देखिएका समस्याको समाधानका लागि नियमित समीक्षा तथा समन्वय बैठकहरू पनि सञ्चालन गरिएको छ।
स्वास्थ्य जनशक्ति व्यवस्थापनअन्तर्गत डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको सरुवा, पदस्थापन र कार्यसम्पादन सुधारसम्बन्धी प्रशासनिक काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। साथै, महामारी तथा मौसमी रोग नियन्त्रणका लागि तयारी, निगरानी र जनचेतनामूलक गतिविधि विस्तारमा समेत जोड दिइएको छ।
यसैगरी स्वास्थ्य बीमा कार्यक्रम तथा सामाजिक सुरक्षा योजनाको प्रभावकारिता बढाउने विषयमा सरोकारवालासँग छलफल गरिएको छ भने स्वास्थ्य पूर्वाधार विकास तथा अस्पताल उपकरण व्यवस्थापनबारे पनि मूल्याङ्कन तथा समन्वय गरिएको छ।
मन्त्रालयले स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ। अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय समितिले सेवा प्रवाह सुधार, प्रविधिको प्रयोग विस्तार तथा प्रणालीगत पारदर्शिताबारे सुझाव र कार्ययोजना तयार गर्नेछ।
यसैबीच औषधि मूल्यवृद्धि सम्बन्धी उजुरीपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल छानबिन प्रक्रियामा तानिएका छन्। अनियमित तरिकाले औषधिको मूल्यवृद्धि गरिएको आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई ७ दिनभित्र विस्तृत छानबिन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
त्यस्तै, स्वास्थ्य मन्त्री निशा मेहता पनि यसै साता विवाद र राजनीतिक दबाबबीच चर्चामा आएकी छन्। स्वास्थ्य बीमा बोर्डमा निष्क्रिय सदस्यलाई पुनः सक्रिय बनाइएको विषयसहित विभिन्न आरोपहरू उठेपछि प्रधानमन्त्रीले उनलाई सचेत गराइसकेको बताइएको छ।