Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रदेश अधिकार कटौतीको आशंका, संघीय सरकार केन्द्रीकृत मानसिकतामै रहेको कँडेलको आरोप

प्रदेश अधिकार कटौतीको आशंका, संघीय सरकार केन्द्रीकृत मानसिकतामै रहेको कँडेलको आरोप

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार प्रदेश र स्थानीय तहको अधिकार खोस्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्। उनले संघीय संरचना अझै पनि पुरानै केन्द्रीकृत सोचबाट प्रभावित रहेको भन्दै त्यसले प्रदेश तथा स्थानीय सरकार सञ्चालनमा जटिलता सिर्जना गरेको बताए।

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको आठौँ स्थापना दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले संविधान लागू भएको एक दशक पुगिसक्दा पनि अपेक्षाअनुसार संघीयताको कार्यान्वयन हुन नसकेको टिप्पणी गरे। उनका अनुसार संरचनागत सुधार ढिलो हुँदा संघीय प्रणालीको प्रभावकारिता कमजोर बन्दै गएको छ।

“संविधानअनुसार अभ्यास अघि बढेको भए संघीयता धेरै अगाडि पुगिसक्थ्यो,” उनले भने, “तर अझै पनि केन्द्रीकृत मानसिकताले काम गरिरहेको छ।”

उनले प्रदेशसभा र स्थानीय तहलाई संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन नभएको भन्दै संघीय सरकारले परिपत्रमार्फत अधिकार विस्थापित गर्ने प्रयास गरिरहेको आरोप लगाए।

कार्यक्रममा मुख्य न्यायाधिवक्ताको कार्यालयले हालसम्म प्रदेश सरकारसँग सम्बन्धित ६९४ वटा मुद्दामा कानुनी सेवा प्रदान गरेको जानकारी पनि दिइयो। कार्यालयले अदालतमा लिखित जवाफ, बहस पैरवी तथा कानुनी परामर्शमार्फत प्रदेश सरकारलाई सहयोग गर्दै आएको छ।