काठमाडौँ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको निःशुल्क आँखा उपचार अभियानले स्थानीयवासीको जीवनमा आशा र राहत ल्याएको छ। विशेषगरी मोतिबिन्दुका बिरामीलाई लक्षित कार्यक्रमले विपन्न र ज्येष्ठ नागरिकलाई ठूलो सहयोग पुर्याएको छ।
नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको अभियानअन्तर्गत अप्रेसन गराएका बिरामीलाई नगर प्रमुख महेश चौधरी र वडा नम्बर १३ का अध्यक्ष मनोज कोइरालाले अस्पतालमै पुगेर भेटेका थिए। बिरामीलाई जुस वितरण गरी सम्मानपूर्वक घर पठाइएको थियो भने नगर बसमार्फत घरसम्म पु¥याउने व्यवस्था मिलाइएको थियो।
वडा नम्बर १३ मा आयोजित निःशुल्क आँखा जाँच शिविरमा २२० जनाले परीक्षण गराएका थिए, जसमध्ये ६१ जनामा मोतिबिन्दु देखिएको थियो। पहिलो चरणमा ५० जनाको सफल शल्यक्रिया गरिएको छ भने बाँकीको उपचार चाँडै गरिने जनाइएको छ। शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पतालले गरेको थियो।
यो अभियान सुरु भएदेखि हालसम्म २,४०० भन्दा बढी मोतिबिन्दु अप्रेसन र ८,००० भन्दा बढी बिरामीको आँखा परीक्षण भइसकेको छ। नगर प्रमुख चौधरीले आगामी दिनमा अन्य वडामा पनि यस्ता शिविर विस्तार गरिने बताए।
स्थानीयवासीले निःशुल्क उपचार, अस्पतालको सहकार्य र नगरपालिकाको व्यवस्थापनप्रति सन्तुष्टि जनाउँदै यस्तो अभियानले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत दिएको बताएका छन्।