Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नयाँ सडकले फेरियो करैयाको दैनिकी, स्थानीयमा राहत र उत्साह

नयाँ सडकले फेरियो करैयाको दैनिकी, स्थानीयमा राहत र उत्साह

काठमाडौँ । सिरहाको लहान नगरपालिका–२३ करैयामा नगरस्तरीय योजनाअन्तर्गत निर्माण भएको सडक ढलानले स्थानीय जीवनमा स्पष्ट परिवर्तन ल्याएको छ। हिलो र धुलोको समस्या झेल्दै आएका बासिन्दाले अब सहज आवतजावतको अनुभव गर्न थालेका छन्।

नवनिर्मित सडकको निरीक्षणका लागि नगर प्रमुख महेश चौधरीसहित जनप्रतिनिधि र स्थानीयवासी स्थलगत रूपमा पुगेका थिए। अनुगमन टोलीमा वडा अध्यक्ष बद्री यादव र कार्यपालिका सदस्य तेजनारायण ठाकुर समेत सहभागी थिए। टोलीले निर्माणको गुणस्तर, प्रयोग सामग्री र समग्र प्रभावको अवलोकन गरेको थियो।

स्थानीयका अनुसार पहिले वर्षामा हिलो र हिउँदमा धुलोले समस्या निम्त्याउँथ्यो, जसका कारण दैनिक आवतजावत कठिन थियो। सडक बनेपछि भने ठूलो राहत मिलेको उनीहरूको भनाइ छ।

अनुगमनका क्रममा नगर प्रमुख चौधरीले सडक अतिक्रमण नगर्न, वातावरण सफा राख्न र घरअगाडि वृक्षरोपण गर्न आग्रह गरे। उनले सार्वजनिक सम्पत्तिको संरक्षण सबैको जिम्मेवारी भएको उल्लेख गर्दै दीगो विकासका लागि जनसहभागिता आवश्यक रहेको बताए।

वडा अध्यक्ष यादवले यस सडकले करैयाको समग्र विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप पूर्वाधार विकासका योजना अघि बढाइने बताए। कार्यपालिका सदस्य ठाकुरले पनि स्थानीयसँग सहकार्य गर्दै विकासका कामलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।