काठमाडौं । अब कानुन निर्माण र संशोधन ढिलो प्रक्रियामा होइन, तीव्र गतिमा अघि बढाइने संकेत सभामुख डोलप्रसाद अर्यालले दिएका छन्। उनले देशमा अझै धेरै क्षेत्रमा आवश्यक कानुन अपूरा रहेको उल्लेख गर्दै ती कार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।
शनिबार काठमाडौंमा लायन्स क्लबको चौथो वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्यालले आवश्यक परेका कानुन, ऐन, नियमावली वा कार्यविधि तत्काल संशोधन गरिने बताए। कसैको हितविपरीत रहेका कानुनहरूलाई छिटो सच्याएर नयाँ व्यवस्था ल्याउने उनको प्रतिबद्धता छ। राष्ट्र र राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता नगरी इमान्दार र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले जोड दिए। ढिलाइ हुँदा समस्या झन् जटिल बन्ने भएकाले कामलाई “फास्ट ट्रयाक” मा लैजाने उनको भनाइ थियो।
यससँगै उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा गरेका उल्लेखनीय कामहरू मिडियामा पर्याप्त रूपमा नआएकोप्रति असन्तुष्टि जनाए। सञ्चारमाध्यमको ध्यान किन यस्तो गतिविधितर्फ कम गएको भन्दै उनले प्रश्न उठाए। प्रायोजक वा खर्च अभावका कारण हो कि भन्ने जिज्ञासा राख्दै उनले देशभर भएका सकारात्मक कामहरूलाई पनि समान रूपमा प्रचार गर्नुपर्ने आवश्यकता औंल्याए।