भक्तपुर । आजदेखि ऐतिहासिक बिस्का जात्राको उत्साहमा डुबेको छ। आठ दिन नौ रातसम्म मनाइने यो पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले विशेष महत्व राख्छ, जसले नयाँ वर्षको आगमनलाई पनि संकेत गर्छ।
जात्राको पहिलो दिन साँझ पाँचतल्ले मन्दिर अगाडिको तौमडी क्षेत्रबाट भद्रकालीको रथ घट्खा टोलतर्फ लगिँदैछ भने भैरवनाथको रथ ‘भैलखः’ तान्दै औपचारिक सुरुवात गरिँदैछ।
परम्पराअनुसार काठले बनेको तीनतले भैलखःमा भैरवनाथ र बेताललाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले आ–आफ्नो क्षेत्रतर्फ तान्ने गर्छन्। रथ तान्नु अघि खड्ग, तरवार र निशान राख्ने चलन पनि छ।
यो जात्राको मुख्य आकर्षण रथ तानातान नै हो, जहाँ दुई टोलबीच प्रतिस्पर्धात्मक माहोल देखिन्छ। पहिलो दिन पाँचतल्ले मन्दिर परिसरबाट अगाडि पाँच र पछाडि चार डोरी प्रयोग गरी रथ तानिन्छ।
‘देव कोहन बिज्यगु’ नामक पहिलो दिनको विशेष अनुष्ठानमा भैरव र भद्रकालीलाई रथमा राखी शहरको तल्लो भागतर्फ लगिन्छ, जसले जात्रामा झन् रोमाञ्च थप्छ।
तौमडी स्क्वायरबाट सुरु हुने यो जात्रा भक्तपुरको सांस्कृतिक पहिचानको प्रमुख प्रतीकका रूपमा चिनिन्छ र आगामी दिनहरूमा सम्पूर्ण शहरलाई उत्सवमय बनाउनेछ।