काठमाडौँ । केही संस्थागत विद्यालयले कानुनविपरीत शुल्क असुलेको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो रकम तत्काल विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै गैरकानुनी शुल्क संकलन रोक्न र नियमविपरीत काम गर्ने विद्यालयमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। आवश्यक परे गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग समन्वय गरेर कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।
विद्यार्थी तथा अभिभावकका गुनासो सुन्न शिक्ष तथा मानवस्रोत विकास केन्द्रमा हेल्प डेस्क पनि स्थापना गरिएको छ। साथै, नयाँ शैक्षिक सत्र सुरु हुनु अघि भर्ना लिने र बढी शुल्क असुल्ने कार्य नगर्न पनि मन्त्रालयले पुनः आग्रह गरेको छ।