Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एलडिसी ग्राजुएशनपछि गार्मेन्ट निर्यातमा चुनौती–अवसर

एलडिसी ग्राजुएशनपछि गार्मेन्ट निर्यातमा चुनौती–अवसर

काठमाडौँ । सांसद गणेश पराजुलीले एलडिसी (अल्पविकसित देश) स्तरोन्नतिको सन्दर्भमा नेपालका तयारी पोशाक (गार्मेन्ट) निर्यात क्षेत्रमा चुनौती र अवसर दुवै रहेको बताएका छन्।

मंगलबार नेपाल तयारी पोशाक उद्योग संघको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदीय समिति गठनसँगै पहिलो छलफल निजी क्षेत्रका मुद्दामा केन्द्रित हुने जानकारी दिए। उनले निजी क्षेत्रबाट लिखित सुझाव माग्दै भने, “समिति गठन हुनेबित्तिकै पहिलो बैठकमा यस विषयमा छलफल गर्नेछौं। अर्थमन्त्री र परराष्ट्रमन्त्रीले पनि यसप्रति गम्भीर चासो देखाउनुभएको छ।”

सांसद पराजुलीले निर्यात तथ्यांकको गहन विश्लेषण आवश्यक रहेको उल्लेख गर्दै, गत वर्षको कुल निर्यातमा गार्मेन्ट क्षेत्रको योगदान र एलडिसी ग्राजुएशनपछि पर्ने सम्भावित नकारात्मक प्रभाव अध्ययन गरेर मात्र प्रभावकारी निर्णय लिन सकिने बताए। उनले द्विपक्षीय व्यापार सम्झौतामा नेपालले सशक्त भूमिका खेल्नुपर्नेमा पनि जोड दिए।