काठमाडौं । डिसहोमको नाम दुरुपयोग गर्दै आकर्षक अफरको लोभ देखाएर ठगी गर्ने गिरोह अन्ततः प्रहरीको फन्दामा परेको छ।
पक्राउ पर्नेमा धादिङ नेत्रावती डबजोङ–५ की २२ वर्षीया आरती सिंखडा, दोलखा भिमेश्वर–८ का २२ वर्षीय विष्णु कार्की र रामेछाप दोरम्बा शैलुङ–२ का ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्। उनीहरू हाल काठमाडौंको टोखा क्षेत्रमा बस्दै आएका थिए।
गिरोहले आफूलाई डिसहोम कर्मचारी भन्दै नियमित ग्राहकलाई फोन गरी “१ वर्षको रिचार्ज गर्दा ४ महिना निःशुल्क” अफर आएको भन्दै झुक्याएर रकम असुल्ने गरेका थिए। उनीहरूले इसेवा, खल्ती र बैंक खातामार्फत पैसा उठाउँदै आएका थिए।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा प्रहरीले उनीहरूलाई चैत २२ गते पक्राउ गरेको हो।