काठमाडौँ । फेवातालको जग्गा सम्बन्धी विवाद चर्किरहेका बेला गृहमन्त्री सुधन गुरूङले हर्क साम्पाङलाई औपचारिक जवाफ दिएका छन्। सामाजिक सञ्जालमार्फत् साम्पाङले सार्वजनिक रूपमा जानकारी मागेपछि गुरूङले आफ्नो सचिवालयमार्फत् प्रतिक्रिया जनाएका हुन्।
गुरूङले आफ्नो वक्तव्यमा विगतको सम्बन्ध स्मरण गर्दै नागरिकप्रति जवाफदेहिता आफ्नो कर्तव्य भएको बताएका छन्। उनले करिब ८–१० वर्षअघि तीन जना साथी मिलेर पोखराको पर्यटन तथा ग्रामीण विकासको लक्ष्यसहित दुर्गम क्षेत्रमा लगानी गरेको उल्लेख गरेका छन्।
उनका अनुसार उक्त जग्गा आफ्नै नाममा नभई भाडामा लिइएको थियो र सुरुमा ६५ मिटर सीमाभित्र नपर्ने जानकारीका आधारमा काम अघि बढाइएको थियो। तर पछि नगरपालिकाबाट त्यो क्षेत्र ६५ मिटरभित्र पर्ने पुष्टि भएपछि परियोजना रोक्नुपरेको र लगानी डुबेको उनले बताएका छन्।
गुरूङले आफूहरू ठगीमा परेको महसुस भए पनि अरूलाई असर नपरोस् भनेर चुप बसेको दाबी गरेका छन्। अवैध ठहरिएको जग्गामा थप भाडा तिर्नु उचित नभएको उल्लेख गर्दै अब कानुनी बाटो अपनाउने निर्णय गरिएको जानकारी दिएका छन्।
साथै, उनले सञ्चारमाध्यम र सम्बन्धित पक्षलाई पूर्ण तथ्य नबुझी एकतर्फी समाचार नप्रकाशन गर्न आग्रह गरेका छन्।