काठमाडौँ । नेपाल सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै चैत २३ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिए।
सरकारी कार्यालयको समय अब बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म रहने छ, तर शैक्षिक संस्थामा यो समय लागू नहुनेछ।
बैठकमा अन्य निर्णयहरूमा पनि उल्लेखनीय कदम चालिएको छ। अर्थ मन्त्रालयअन्तर्गत ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ का लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरिएको छ। त्यस्तै, ‘दिगो र समावेशी वित्त परियोजना’ का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण पनि स्वीकृत हुने भएको छ।
साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार सबै मन्त्रालय, सचिवालय, आयोग र निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले को राजीनामा पनि बैठकले स्वीकृत गरेको प्रवक्ता पोखरेलले बताए।