Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पहिरोको प्रहारले अँध्यारोमा बाजुरा: रौदीगाड जलविद्युत् आयोजना पूर्ण रूपमा ध्वस्त

पहिरोको प्रहारले अँध्यारोमा बाजुरा: रौदीगाड जलविद्युत् आयोजना पूर्ण रूपमा ध्वस्त

काठमाडौँ । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको रौदीगाड लघु जलविद्युत् आयोजना एक्कासि आएको पहिरोले पूर्ण रूपमा तहसनहस बनाएको छ, जसले स्थानीय बस्तीलाई अन्धकारमा धकेलेको छ।

हिउँदे वर्षापछि खसेको पहिरोले आयोजनाको पावर हाउस माथिबाट ठूलो क्षति पुर्‍याउँदै नहर समेत बगाएको उपभोक्ता समितिका सचिव भक्त विकले जानकारी दिए। संरचनामा गम्भीर क्षति पुगेपछि अहिले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।

वि.सं. २०६९ चैत २५ गते निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट करिब ३५० घरपरिवार लाभान्वित हुँदै आएका थिए। तर, पावर हाउस र नहर दुवैमा क्षति पुगेपछि ती सबै घरधुरी प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।

वडा अध्यक्ष गोरख बोहराका अनुसार, समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर तत्काल पहल गरिनेछ। विद्युत् सेवा पुनः सञ्चालन गर्न छिटो कदम चालिने उनले बताए।

त्यस्तै, कर्मचारी भीम बहादुर रोकायाले पहिरोले संरचनासँगै उपकरणमा समेत क्षति पुर्‍याएको उल्लेख गर्दै मर्मत र पुनःनिर्माणका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको बताए।

बाजुरा जिल्लामा हरेक वर्ष बाढी र पहिरोले ठूलो क्षति पुर्‍याउँदै आएको छ। करिब १३५ भन्दा बढी बस्ती उच्च जोखिममा रहेको अवस्थामा चैत महिनामै पहिरो सक्रिय हुन थालेपछि स्थानीयमा त्रास फैलिएको छ।