काठमाडौँ । सहकारीमा बचत डुबेर समस्यामा परेका सर्वसाधारणको आवाज सुन्न सरकार सक्रिय बनेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आजदेखि पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गर्नुभएको हो।
सरकारले सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गराउने लक्ष्य अघि सारेको अवस्थामा मन्त्रालयमा आज बिहानैदेखि देशभरका पीडितहरू भेला भएर आफ्ना गुनासा राखिरहेका छन्। लामो समयदेखि बचत नपाएर मारमा परेका नागरिकहरूले पहिलोपटक मन्त्रीसमक्ष प्रत्यक्ष रूपमा आफ्नो अवस्था प्रस्तुत गर्ने अवसर पाएका छन्।
छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्दै प्रभावकारी सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो। साथै, सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार चरणबद्ध रूपमा अघि बढिरहेको र विशेषगरी साना बचतकर्तालाई राहत दिने योजनामा केन्द्रित रहेको उहाँको भनाइ छ।
यस पहलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ।