काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले प्रशासनिक झमेलामा पर्नुपर्ने, कामका लागि घुस दिनुपर्ने र साना व्यावसायिक विषयमा थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले भने, “म आफैँ घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ। म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ।”
व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको ‘व्यावसायिक कसुरमा थुन्न नहुने’ मागलाई सम्बोधन गर्दै अर्थमन्त्रीले अब आर्थिक बेइमानीका मामिलामा मात्र जरिवाना र आर्थिक नीति अनुसार कारबाही हुने बताए। “उद्योगी–व्यापारीहरू सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु पर्दैन, दण्डको स्वरूप बदलिनेछ,” उनले स्पष्ट पारे।