काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक सक्रियता बढ्दै जाँदा शेरबहादुर देउवा पक्षसँग सम्बद्ध पूर्णबहादुर खड्का र डा. शेखर कोइराला समूहले प्रतिनिधि सभामा निर्वाचित सांसदहरूलाई लक्षित गर्दै छुट्टै बधाई कार्यक्रम आयोजना गर्न लागेको छ।
धुम्बाराहीस्थित स्मार्ट मलमा सोमबार दिउँसो १ बजेका लागि तय गरिएको कार्यक्रममा औपचारिक रूपमा बधाई आदानप्रदान गरिने भए पनि समसामयिक राजनीति र पार्टीभित्रको अवस्थाबारे छलफल हुने बताइएको छ। साथै, सर्वोच्च अदालतमा दायर गरिएको रिटबारे पनि कुराकानी हुने तयारी छ, जसको पेसी चैत २२ गतेका लागि तय गरिएको छ।
विशेष महाधिवेशनबाट चयन गरिएको नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि असन्तुष्ट देउवा समूहले सर्वोच्चमा रिट दायर गर्दै समानान्तर गतिविधि अघि बढाइरहेको छ। यसै सन्दर्भमा आयोजना गरिएको कार्यक्रम खड्का र कोइरालाको अगुवाइमा भइरहेको हो।
यस समूहले सोमबारको कार्यक्रममार्फत सांसदहरूलाई बधाई दिँदै पार्टीभित्रको रणनीतिबारे छलफल गर्नेछ भने मंगलबारदेखि १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बैठकसमेत बोलाइने तयारी गरिएको छ। साथै, प्रदेश र जिल्ला तहका सभापतिहरूको भेला पनि छिट्टै आयोजना गरिने संकेत गरिएको छ।