Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भण्डारीको चेतावनी—हतारमा लिइएको निर्णयले अस्थिरता निम्त्याउन सक्छ

भण्डारीको चेतावनी—हतारमा लिइएको निर्णयले अस्थिरता निम्त्याउन सक्छ

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै हतारमा गरिएको कदमले मुलुकमा जोखिम बढाउन सक्ने चेतावनी दिएकी छन्।

शनिबार जारी विज्ञप्तिमा उनले भदौ २३–२४ का घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन पूर्ण नभएको विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै, सरकार गठन भएको पहिलो दिनमै त्यसलाई कार्यान्वयन गर्ने निर्णय हतारपूर्ण भएको बताएकी छन्।

उक्त निर्णयअन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयलाई उनले संवेदनशील र दूरगामी प्रभाव पार्ने कदमको रूपमा व्याख्या गरेकी छन्।

भण्डारीले कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श अनिवार्य हुने बताउँदै हतारमा गरिएका निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर पार्ने र अस्थिरता निम्त्याउने उल्लेख गरेकी छन्।

सुशासनको प्रतिबद्धता जनाएको सरकारबाट यस्तो कदम आउनु दुःखद् भएको जनाउँदै उनले लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा र प्रक्रियागत शुद्धता कायम राख्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेकी छन्। साथै, संयमता अपनाएर अघि बढ्न र मुलुकको स्थायित्व जोगाउन सरकारलाई अपिलसमेत गरेकी छन्।