काठमाडौँ । लागूऔषध नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढ्दै जाँदा देशका विभिन्न स्थानबाट एकैदिन धेरै व्यक्तिहरू पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–६ मित्रनगरस्थित एक गेष्ट हाउसबाट खैरो हेरोइनजस्तो देखिने ६ ग्रामभन्दा बढी पदार्थसहित पाँच जना पक्राउ परेका छन्। गोंगबु प्रहरीको टोलीले कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।
यस्तै, गोकर्णेश्वर–९ आरूबारीबाट ट्रामाडोल २३० ट्याब्लेट र २ लाख रुपैयाँ नगदसहित एक युवकलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ।
झापामा पनि लागूऔषधविरुद्ध अभियान तीव्र देखिएको छ। भद्रपुरका विभिन्न स्थानबाट ब्राउनसुगरजस्तो पदार्थसहित चार जनाभन्दा बढी व्यक्ति छुट्टाछुट्टै कारबाहीमा परेका छन्, जसमा केहीलाई भारतबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा पक्राउ गरिएको हो।
यसैक्रममा बर्दियाको बढैयाताल क्षेत्रमा पनि ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ, भने लागूऔषध नियन्त्रण अभियानलाई अझ कडाइका साथ अघि बढाइने संकेत दिएको छ।